हार्दिक धन्यवाद ज्ञापन !
|
हार्दिक धन्यवाद ज्ञापन !
हे दुर्गे कलङ्के मम किमपि न कर्तुं शक्तिरस्ति
त्वं कर्त्री कारयित्री च भवसि सदा मे गतिश्च।
त्वद्भक्तिं याचमानो विनयपरतया त्वां नमामि
त्वत्कृपया सर्वमेतत् तव चरणयुगे चार्पयामि॥
(हे दुर्गे कलंकी ! मसँग केही गर्ने शक्ति छैन । तिमी नै कर्ता र कारक हौ, सधैँ मेरो गति पनि। तिम्रो भक्ति माग्दै विनयपूर्वक तिमीलाई नमस्कार गर्छु । तिम्रो कृपाले यो सबै तिम्रै चरणमा अर्पण गर्छु।)
श्री ३ कलङ्की माई (श्री ३ कल्खु अजिमा) भगवती र पूज्य आगम गुरुदेवका चरणमा सहस्र वन्दना गर्दछु ।
गत मिति २०८१/०६/०२ गते, ( ने.सं. ११४४ यंलाथ्वः पुन्हि), बुधवारका दिन कलंकी माँ नेवा पुच:को आयोजनामा भगवती श्रीकलङ्की माईलाई प्रीति गरि नेपाल राष्ट्रको समुन्नति होस्, सम्पूर्ण नेपालीलाई समृद्धि, सुस्वास्थ्य, उत्तरोत्तर प्रगति होस् भन्ने मनोकामना सहित तान्त्रिक पूजापद्धतिले समयद्वँ (संस्कृतमा पञ्चमकार, नेपालीमा समयबजी) अर्पण गरिएको छ । पहिलोपटक इन्द्रजात्रा( येँया पुन्हिया लसताय न्हापां खुसि)को उपलक्ष्यमा श्रीमाईलाई समयद्वँ भक्तजनहरूको तर्फबाट सामूहिक रूपमा चढाउने कार्यक्रम भव्यतापूर्वक सम्पन्न भएको हो । अपराह्नकालीन अनुष्ठान पश्चात् श्रीकलङ्की माईको रात्रीकालीन चा:पूजा गरिएको थियो । चा:पूजा नेपालमण्डलको मूलपरम्परा मानिएको कौलतन्त्रको दीक्षा भएका दीक्षितहरू मात्र बसेर सम्पन्न गरिएको थियो । यस किसिमको तान्त्रिक अनुष्ठानले नेपालमण्डलको प्राचीन परम्पराको संरक्षणमा समेत जोड दिएको छ भने नेवाःहरू र गैरनेवाःहरूको सामाजिक-सांस्कृतिक समन्वय र सहकार्यलाई समेत थप मलजल गरेको छ । सामाजिक सहिष्णुता र एकताको उत्कृष्ट उदाहरण हो यो अनुष्ठान ।
यस पूजा कार्यक्रममा प्रत्यक्ष-परोक्षरूपमा बहुपक्षीय सहयोग प्राप्त भएका छन् । म पङ्क्तिकार प्रकाशमान शिल्पकार श्रेष्ठको प्रस्तावलाई कलंकी माँ नेवा पुच:ले सहर्ष स्वीकार गरि अपनत्व लिएर स्वयंसेवक खटनपटन, आर्थिक सङ्कलनदेखि समयबजी जोड्ने कामलगायतका भौतिक श्रमदेखि अमूर्त सहयोगसम्म गर्नुभएकोमा हार्दिक साधुवाद टक्राउन चाहन्छु ।
यथाइच्छा श्रीकलङ्की माईप्रति अजस्र श्रद्धाभाव देखाएर भगवतीको महापूजामा आर्थिक सहयोग र समयद्वँँका लागि पूजा र खाद्यसामाग्रीहरू उपलब्ध गराउनुहुने सम्पूर्ण जनहरूमा हार्दिक धन्यवाद जाहेर गर्दछु । वास्तवमा उहाँहरूको सहयोग बिना यो पूजा सम्भव हुने थिएन । उहाँहरूलाई श्रीकलङ्कीमाईले सदैव कल्याण गरून्, हाम्रो यही मङ्गलकामना छ ।
पूजा सम्पन्न गर्न विधिविधानको सरसल्लाह दिनुहुने मेरा संरक्षक गुरु त्रिगुणातीत तन्त्र साधकरत्न श्रीमान् महेश्वर जुुजु राजोपाध्याय, तान्त्रिक पूजाको सम्पूर्ण व्यवस्थान गर्नु हुने तन्त्रचर्चा परिवार, पीठपूजा सम्पन्न गर्नुहुने मेरा आगम गुरुदेव श्री हंसराज कर्माचार्यज्यूलाई हृदयदेखि नतमस्तक भइ वन्दना गर्दछु ।
त्यस्तै श्रीकलंकी मन्दीर संरक्षण तथा समाज सुधार संस्थाले समेत यस पूजामा अपनत्व ग्रहण गरि मन्दिरको छानोलाई रंगरोगन गर्ने, चँदुवा राख्ने, सरसफाईलगायत कार्यहरू सम्पादन गरि स्थान उपलब्ध गराएको छ । त्यस महापुनित कार्यका लागि म हृदयदेखि नै मन्दिर समितिलाई कृतज्ञता ज्ञापन गर्दै भविष्यमा पनि यसप्रकारको साथ र सहयोगको अपेक्षा गर्दछु ।
श्रीकलङ्की माईको मन्दिर सरसजावटका लागि बिजुलीको लाइन व्यवस्थापन गरिदिनुहुने श्री बाबुकृष्ण श्रेष्ठलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु । साथै भीडभाड व्यवस्थापन गर्न स्काउटसँग समन्वय गरिदिनुहुने महानुभाव र खटिनुहुने स्काउट टोलीलाई पनि धन्यवाद ज्ञापन गर्दछु । मन्दिर सरसफाई गर्न पञ्जा र तारजाली व्यवस्था गरिदिनुहुन कुमार अधिकारीज्यूलाई पनि धन्यवाद ज्ञापन दिन्छु । समयद्वँ राख्ने मञ्च सजाउन पाल, सायर, टेबुल , किस्ति र झल्लर लगायत सामानहरु निशुल्क उपलब्ध गराएर सहयोग गर्नु हने नमस्ते क्याटरिङ्ग सर्भिस- कलंकीलाई पनि साधुवाद ।
काठमाडौं महानगरपालिका वडा नम्बर १४ र वडाध्यक्ष श्रीसुमन श्रेष्ठज्यूलाई समेत संरक्षण र अभिभावकत्व प्रदान गरिदिनुभएकोमा हार्दिक धन्यवाद छ । उहाँले सरसफाई कर्माचारीहरू खटनपटन गर्ने, सडकमा बिजुलीबत्ती जडान गरिदिने, समन्वय गर्ने, बेलाबेलामा आएर कार्यहरूको निरीक्षण गरिदिने लगायतका कार्यहरू गरिदिनुभएकोमा हामी आभारी छौँ । समयद्वँ अर्पण कार्यक्रम अवधिभर मन्दिर भएर आवतजावत गर्ने सबै सवारी चालकहरुले वैकल्पिक बाटो प्रयोग गरेर हाम्रो कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा हामी आभारी छौं।।
इन्द्र जात्राको उपलक्ष्यमा कलंकी माईको तान्त्रिक पद्धति बाट गरिएको पहिलोपटकको अनुष्ठानको अपराह्नकालीन अनुष्ठान र महाभोग( समयद्वँ) अर्पणको श्रव्यदृष्य आफ्नो क्यामरामा कैद गर्न कुनै पत्रकार आईपुगेको नदेखिए पनि चित्रकार आएर उक्त महापूजाको सम्पूर्ण भिडियो खिचेर सामाजिक सञ्जालमार्फत् प्रत्यक्ष प्रसारण एवम् फोटो र फुटकर भिडियोजन्य सामाग्री खिचेर राखिदिनुहुने "हाम्रो मठमन्दिर" का विकास चित्रकारज्यूलाई साधुवाद प्रकट गर्दछु ।
साथै यस अनुष्ठानलाई सम्पन्न गर्न सहयोग गर्नुहुने ॐ वैदिक सनातन धर्म संस्था नेपाल, पर्वसमय सुधार राष्ट्रिय समाज नेपाल, कलङ्की मगर समाज, धिमेबाजा खल नागार्जुन, कलङ्की धिमेबाजा खल, बाँसुरी खल, कृपा भेन्युलगायतलाई हृदयदेखि नै मुरिमुरी धन्यवाद टक्र्याउँछु र भविष्यमा पनि यसप्रकारको साथसहयोगको अपेक्षा गर्दछु । पूजा व्यवस्थापनको संयोजक बनाएर मलाई सोसम्बन्धी सम्पूर्ण जिम्मेवारी दिनुभएकामा कलंकी माँ नेवाः पुचःलाई हार्दिक धन्यवाद । यसले मलाई थप उत्साह र हौसला प्रदान गरेको छ । आगामी दिनमा पनि यो अभिभारा ग्रहण गरेर भगवतीको सेवा गर्नको लागि प्रतिबद्धता जाहेर गर्दछु ।
अन्तमा : गर्ने गराउने उनै भगवती शक्तीश्वरी हुनुहुन्छ, हामी त निमित्त मात्र हौँ । उहाँकै कृपाले यो सबै भयो, उहाँकै इशारामा हामी नाचिरहेछौँ । उहाँको पाउमा नै यो सबै कर्म चढाउँछु । उहाँकै प्रेरणाले यो सबै गर्न सहयोग गर्नुहुने महानुभावहरूलाई धन्यवाद टक्राएँ । श्री श्री श्री भगवती देवी जननी जयति। श्रीशक्तिंवन्दे जगत्गुरुम् । रक्ष रक्ष कृपां कुरु !
(द्रष्टव्य- संकलन भएको रकम दाताहरुको नामावली खर्च विवरण लगायत विवरण यथा सिघ्र सार्वजनिक गर्ने नै छु।)
~ प्रकाशमान शिल्पकार
आईतवार ६ असोज २०८१ /
ने.सं. ११४४ यंलागाः षष्ठी,
No comments:
Post a Comment